mgid

Loading...

adestra

बद्री पंगेनी भन्छन्, ‘छाडा गीत हटाउने कसम खाएका छौं’

लोक दोहोरी प्रतिष्ठानका नवनिर्वाचित केन्द्रीय अध्यक्ष बद्री पंगेनीले लोक तथा दोहोरी गीत क्षेत्रमा भित्रिएका विकृति हटाउन आफूहरूले पहिलो बैठकमै कसम खाएको बताएका छन् । पहिलो बैठकमै अहिले चलेका केही शब्द संकलक, संगीतकार, गायक र गायिकाले विकृतियुक्त गीत नल्याउनका लागि प्रतिबद्धता जनाएको उनले बताए ।
‘लोक दोहोरीको पचास प्रतिशत विकृति त एक महिनामै हराउने भयो,’ उनले भने, ‘वरिष्ठ कलाकारहरूले त्यस्ता गीत नगर्ने कसम खानुभएको छ,’ उनले लोक दोहोरी गीतहरूमा देखिएका विकृति हटाउनका लागि आफूले शुरूवाती दिनदेखि नै काम गर्ने प्रतिक्रिया दिए ।
‘शंकर बिसी, पार्वती राईजस्ता कलाकारले विकृतियुक्त गीतमा ननाच्ने समेत आश्वासन हामीलाई दिनुभएको छ,’ पंगेनीले लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘पूर्णकला विसी, कुलेन्द्र विश्वकर्मा, राजु ढकाल, देवी घर्ती लगायतका गायक गायिकाले यस्ता गीत नगाउने वचन समेत दिनुभएको छ ।’
साथै उनले शिव हमाल र रमेश विजीजस्ता सर्जकले समेत उत्ताउला गीतहरू लेख्दै नलेख्ने कसम खाएको बताए । चर्चित ‘एरेन्जर’ विनोद बाजुरालीले उत्ताउला गीतहरूको एरेन्ज नै नगर्ने बताएको समेत उनले जानकारी दिए ।
सामूहिक रूपमा आफूहरू यसरी अघि बढेकोले विकृति–विसंगति केही हदसम्म हट्ने उनले बताए । साथै उनले सम्पूर्ण कलाकारहरूलाई दुई हात जोडेर ‘रत्यौली’ नगाउन, नलेख्न समेत अनुरोध गर्ने बताए ।
‘टेर्नुभएन भने कानूनलाई साथमा लिएर लोकदोहोरी प्रतिष्ठान अघि बढ्छ,’ उनले भने, ‘सम्बन्धित सम्पूर्ण निकायहरूसँग पनि समन्वय गर्ने योजना रहेको छ ।’ लोक–दोहोरीको उत्थानका लागि सम्पूर्ण केन्द्रीय सदस्यलाई अर्को केन्द्रीय समितिको बैठकमा रायसहित उपस्थितिका लागि निर्देशन समेत दिएको उनले बताए ।
साथै उनले आफू अध्यक्षको रूपमा कार्यतालिका र कार्ययोजना बनाएर अगाडि बढ्ने लोकान्तरलाई बताएका छन् । सारमा कलाकारलाई कलाकार नै भएर बाँच्न सक्ने अवस्था सिर्जना गर्नका लागि सम्पूर्ण उपायहरू अपनाउने तयारीमा आफू रहेको उनले बताए ।
उनले सम्पूर्ण कलाकार र सम्बन्धित निकायसँग समन्वय गर्ने, राज्यसँग समन्वय गर्ने र रोयल्टी लगायतका विषयमा पनि आवाज उठाउने बताए । दोहोरी साँझमा गाउनेहरूका समस्या समाधानका लागि पनि आफू लागिपर्ने उनको भनाई छ ।
उनले तीन महिनामै लोक दोहोरीको क्षेत्रमा केही परिवर्तन आउने आश्वासन दिए । ‘एक दुई महिनामै सकारात्मक परिवर्तन परिवर्तन हुन्छ,’ उनले भने, ‘कसम खाएका साथीले बेइमानी गर्नुहुन्न भने आश्वासन लिएको छु ।’
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly