![]() |
हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको पाइएको छ ।
खड्काको ‘सुसाइड नोट’ मा ’पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको’ व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ’। ‘हतियार हराएपछि शंकास्पद सबैलाई मनपरी दैनिक कुटपिट र अन्य शारीरिक तथा मानसिक दबाब दिइएको देखियो,’ स्रोतले भन्यो । सेनाको सुदूपश्चिम पृतनाको गरुडदल गुल्मबाट गत साउन २१ गते हतियार हराएको थियो । त्यसको अनुसन्धान चलिरहेका बेला हवल्दार खड्काले पृतनाभित्रै आफ्नै हतियारले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।
हराएको हतियार खोज्न सेनाले गठन गरेको ‘कोर्ट अफ इन्क्वाइरी’ ले डेढ महिनाभन्दा लामो अनुसन्धान गरिसकेपछि असोज पहिलो साता सेनाकै आग्रहमा प्रहरी टोली सुदूरपश्चिम पुगेको थियो । प्रहरी अनुसन्धान चलिरहेकै बेला असोज ७ मा पृतनाकै गेट नम्बर २ को कापमा हराएको हतियार र गोलीगट्ठा भेटिएको थियो ।
प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले प्रहरी टोली काठमाडौंबाट दिपायल गएको पुष्टि गरे । उनले भने, ‘प्रहरी अधिकृतको टोली दिपायल पठाएका छौं, थप अनुसन्धान विवरण आउन बाँकी छ । मुख्य काम हतियार खोज्ने पूरा भएको छ ।’ आत्महत्यापछिको अनुसन्धान प्रहरीले जारी राखेकाले यस विषयमा सेनालाई जानकारी नहुने सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए ।
उनले ‘सुसाइड नोट’ का विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘घटनास्थलको मुचुल्कादेखि पोस्टमार्टमसम्म सबै प्रहरीले गरेको छ । हामीलाई थाह हुँदैन,’ कार्कीले भने । सैनिक हवल्दारले अनुसन्धान दबाब सहन नसकेर आत्महत्या गरेको आरोपको सेनाले खण्डन गरेको छैन । हवल्दार खड्काका सम्बन्धमा अनुसन्धान भइरहेको सेनाले बताउँदै आएको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले प्रहरीसँग रहेका प्रविधि र दक्ष जनशक्तिको अनुसन्धानमा प्रयोग गरिएको बताए ।
ब्युरोका डिआइजी नवराज सिलवालले घटनाका विषयमा केही बताउन चाहेनन् । उनले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार ब्युरोका केही अधिकारी अनुसन्धानमा खटिएको जानकारी मात्र आफूसँग रहेको बताए ।
ब्युरोस्रोतका अनुसार एसपी दिवेश लोहनी नेतृत्वमा अनुसन्धान टोली दिपायल खटिएको हो । यस्तै, दिपायल प्रहरी र सुदूरपश्चिम प्रहरीको टोलीसमेत घटना अनुसन्धानमा खटिएको छ । न्युज अभियानबाट
![]() |

0 comments:
Post a Comment